पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स फाइनलमा भिड्ने भएका छन् । उपाधि भिडन्त त्रिवि क्रिकेट मैदानमा शनिबार मध्याह्न १२ बजेदेखि हुनेछ।
बिहीबार जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले निराश पार्दै सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको हो । समूह चरण र प्लेअफमा सुदूरपश्चिमसँग जनकपुर पराजित भएको थियो। समूह चरणमा सुदूरपश्चिमसँग ७२ रन तथा प्लेअफमा आठ विकेटले जनकपुर स्तब्ध भएको थियो। अब फाइनलमा एकपटक फेरि नम्बर १ र २ टोलीको प्रतिस्पर्धा हुनेछ।
यो फाइनल विशेष हुनेछ, किनकि सुदूरपश्चिमसँग जनकपुरका लागि बदला लिने अवसर हुनेछ भने सुदूरपश्चिमले आफ्ना नजिकका प्रतिस्पर्धीविरुद्ध जितको ह्याट्रिक बनाउन चाहनेछ। विजेताले १ करोड १० लाख पुरस्कार पाउनेछ। उपविजेताले ५१ लाखमा चित्त बुझाउनुपर्नेछ।
एनपीएल सुरुवातदेखि नै चर्चामा रह्यो। भारतका शिखर धवन, न्यूजिल्याण्डका मार्टिन गप्टिल, जिमी नीशमदेखि इंग्ल्याण्डका रवि बोपाराजस्ता स्टारको सहभागिताका कारण पनि एनपिएलले सुरुवातदेखि नै चर्चा पाएको हो।
लिगको बीचमा वेस्ट इण्डिजका महान् क्रिकेटर ब्रायन लाराको आगमनले एनपिएलले थप उचाइ लियो।