बझाङ –बझाङमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडकमा सोमबार बिहान अटो दुर्घटना भएको हो ।
टुमेडा गाउँबाट बुंगल नगरपालिका–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटोको ब्रेक फेल भएर करिब ९०० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा बुंगल नगरपालिका–१० की ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा, ६ वर्षीया डल्ली महरा र ५ वर्षीय रियास महराको मृत्यु भएको छ ।
अटोमा चालकसहित ६ जना सवार थिए । दुर्घटनामा परेका १३ वर्षीय विक्रम महरा सकुशल घर गएको प्रहरीले जनाएको छ ।
अटो चालक बुंगल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।