पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।
बिहीबार जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले निराश पार्दै सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको थियो।
समूह चरण र प्लेअफमा सुदूरपश्चिमसँग जनकपुर पराजित भएको थियो । समूह चरणमा सुदूरपश्चिमसँग ७२ रन तथा प्लेअफमा आठ विकेटले जनकपुर स्तब्ध भएको थियो । अब फाइनलमा एकपटक फेरि नम्बर १ र २ टोलीको प्रतिस्पर्धा हुनेछ।
यो फाइनल विशेष हुनेछ, किनकि सुदूरपश्चिमसँग जनकपुरका लागि बदला लिने अवसर हुनेछ भने सुदूरपश्चिमले आफ्ना नजिकका प्रतिस्पर्धीविरुद्ध जितको ह्याट्रिक बनाउन चाहनेछ।
विजेताले १ करोड १० लाख पुरस्कार पाउनेछ। उपविजेताले ५१ लाखमा चित्त बुझाउनुपर्नेछ। नेपाल क्रिकेट संघको आयोजनामा मंसिर १५ गतेदेखि सुरू भएको प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको थियो।