बैतडी : प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुँदैछ। बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टले बताउनुभयो।
प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम रहेको छ। उद्घाटन समारोहपश्चात हुने उद्घाटन खेलमा समूह बी मा रहेको बैतडी र अछाम भिड्दा अर्को खेलमा डोटी र बझाङ खेल्नेछन्।
दशरथचन्द क्रिकेट मैदानमा नेपाल क्रिकेट संघको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरेपछि यहाँ प्रतियोगिता आयोजना गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो।
टर्फपीचमा खेल गराउदा खेलाडीलाई माथिल्लो स्तरमा खेल्न सहयोग पुग्ने भएकोले यहाँ प्रदेशस्तरीय छनौट प्रतियोगिता राखिएको जनाएको छ। पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट संघमा आवद्ध प्रदेश ८ जिल्लाको सहभागीता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिनुभयो।
सार्वजनिक खेलतालिका अनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो। समूह ए को विजेता र समूह बी को विजेताबीच पुस २५ गते फाइनल भिडन्त हुनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनौट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले बताउनुभयो।
प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदै।