पाकिस्तान सुपर लिग (पीएसएल) २०२५ को खेलाडी ड्राफ्टअन्तर्गत डायमण्ड क्याटेगोरीमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने समावेश भएका छन्। पाकिस्तान सुपर लिगले शुक्रबार सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा सन्दीप डायमण्ड क्याटेगोरीमा समावेश भएका हुन्।
यसअघि सिल्भर क्याटेगोरीमा नेपालका ६ खेलाडी समावेश भएका थिए। सोमबार सार्वजनिक भएको ड्राफ्ट लिष्टमा सिल्भर क्याटेगोरीमा गुल्सन झा, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दिपेन्द्रसिंह ऐरी र सोमपाल कामी रहेका थिए।
आगामी सिजनको पीएसएलको लागि फाइनल ड्राफ्ट आगामी जनवरी १३ मा हुँदैछ। पीएसएल २०२५ आगामी अप्रिल-मे महिनामा हुनेछ।
यसअघि सन्दीप लामिछाने प्लाटिनम तथा गुल्शन झा गोल्ड क्याटेगोरीमा थिए। यद्यपी अघिल्लो संस्करणबाट नेपालबाट १० खेलाडी ड्राफ्टमा रहेकामा सबै अनसोल्ड रहेका थिए।