बैतडी–बैतडीमा १३ हजार बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिइने भएको छ । देशैभर सञ्चालन हुने अभियान अन्तर्गत बैतडीमा पनि यही माघ २२ गतेदेखि खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताउनुभयो ।
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा आवश्यक तयारी भइरहेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो ।जिल्लाका १३ हजार ६ सय ५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिने लक्ष्य रहेको उनले बताउनुभयो ।
अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने १० देखि १४ बर्ष सम्मका किशोरीहरुलाई खोप दिइने खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिनुभयो ।
खोप अभियानको तयारी स्वरुप जिल्लाका १० ओटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र जिल्लाभरी रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुलाई तालिम दिने कार्य भइरहेको सूचना अधिकारी लेखकले बताउनुभयो । यो तालिम माघ १० गतेसम्म सञ्चालन हुने बताइएको छ ।
अभियानका लागि बैतडीमा कक्षा ६ देखि १० सम्मको पढाई हुने २ सय ३४ विद्यालय र १ सय ५ ओटा स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्र तोकिएको छ । सोही अनुसार अभियानका लागि स्वास्थ्यकर्मी खटिने खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिनुभयो।
खोप अभियानलाई सफल बनाउन जिल्लाभरीका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई तालिम दिनुका साथै विद्यालयका शिक्षिकाहरुलाई समेत तालिम दिने योजना रहेको छ ।