प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने, खेलतालिका सार्वजनिक

बैतडी-प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश स्तरीय छनौट बैतडीमा हुने भएको छ।

यही फागुन ११ गतेदेखि सुरू हुने प्रतियोगिताका खेलहरू बैतडीको दशरथचन्द नगरपालिका९५ सुन्दरखालीमा रहेको दशरथचन्द क्रिकेट मैदानमा खेलाइने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताए। आठ टोली सहभागी हुने प्रतियोगिताका खेलहरू प्लेट र एलाइट गरेर दुई चरणमा हुनेछन्।

प्लेट च्याम्पियनसिपका खेलहरू फागुन ११ गतेदेखि र फागुन १४ गतेदेखि एलाइट कप सञ्चालन हुनेछ।प्लेट च्याम्पियनसिपको उद्घाटन खेलमा फागुन ११ गते बझाङ र दार्चुला भिड्नेछन्। सोही दिन हुने अर्को खेलमा डडेल्धुरा र डोटी खेल्नेछन्।

फागुन १२ गते पहिलो खेलमा दार्चुला र डोटी भिड्दा दोस्रोमा डडेल्धुरा र बझाङ आमनेसामने हुनेछन्। फागुन १३ गते हुने पहिलो खेलमा दार्चुला र डडेल्धुरा प्रतिस्पर्धा गर्दा दोस्रोमा बझाङ र डोटीबीच भिडन्त हुनेछ।

प्लेट च्याम्पियनसिपको च्याम्पियन टोली एलाइट कपका लागि छनौट हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिए। फागुन १४ गते हुने एलाइट कपको उद्घाटन खेलमा बैतडी र अछाम भिड्नेछन्।

फागुन १५ गते प्लेट च्याम्पियन र अछाम,फागुन १६ गते बैतडी र प्लेट च्याम्पियन, फागुन १७ गते अछाम र कञ्चनपुर , फागुन १८ गते कञ्चनपुर र प्लेट च्याम्पियन ,फागुन १९ गते कैलाली र अछाम,फागुन २० गते प्लेट च्याम्पियन र कैलाली,फागुन २१ गते बैतडी र कञ्चनपुर,फागुन २२ गते कैलाली र कञ्चनपुर, फागुन २३ गते कैलाली र बैतडी खेल्नेछन्। फागुन २४ गते प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ।

प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली तयार गरिनेछ।

Leave A Reply

Your email address will not be published.