बैतडीका दुई क्याम्पसमा मात्रै आज स्ववियु निर्वाचन हुँदै

बैतडी: त्रिभुवन विश्वविद्यालय अन्र्तगतका बैतडीका दुईओटा क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ। त्रिवि अन्र्तगत यहाँ सातओटा क्याम्पस रहेपनि दुईमा मात्रै स्ववियु निर्वाचन हुन लागेको हो।

यहाँको श्रीकोट बहुमुखी क्याम्पस खोचलेक र ग्राम प्रकाश बहुमुखी क्याम्पस शर्मालीमा मात्रै चुनाव हुने भएको हो। दुई सय ५० जना विद्यार्थी मतदाता रहेको श्रीकोटमा आज हुने निर्वाचनको सबै तयारी पूरा भइसकेको निर्वाचन संयोजक नरेन्द्रप्रसाद पन्तले बताउनुभयो।

श्रीकोटमा अनेरास्ववियु र नेविसंघ तालमेल गरेर चुनावी मैदानमा छन् भने अखिल क्रान्तिकारी एक्लै चुनावी मैदानमा उत्रेको छ। अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल अनेरास्ववियुका नवीन कपाडीको नेतृत्वमा चुनावी मैदानमा छ भने अखिल क्रान्तिकारी सुरेन्द्र कार्कीको नेतृत्वमा चुनावी मैदानमा रहेको छ।

यस्तै शिवनाथमा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसमा पनि आज हुने स्ववियु चुनावको सबै तयारी पूरा भएको निर्वाचन अधिकृत महामलसिंह साउँदले बताउनुभयो। ९५ जना विद्यार्थी मतदाता रहेको यस क्याम्पसमा नेविसंघ र अनेरास्ववियु चुनावी मैदानमा उत्रेका छन्। यहाँ नेविसंघ कविता साउँद र अनेरास्ववियु सरीता साउँदको नेतृत्वमा चुनावी मैदानमा रहेको बताइएको छ।

यस्तै जिल्लाको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसमा विद्यार्थी संगठनहरुबीच सहमति गरेर सर्वसम्मत स्ववियु गठन गरिएको छ। उक्त क्याम्पसमा अनेरास्ववियुकी सपना चन्द सभापतिमा चयन भइसकेकी छन्।

यस्तै शिक्षा क्याम्पस शाहीलेकमा अनेरास्ववियुको प्यानल नै स्ववियुमा आएको छ। उक्त क्याम्पसको स्ववियु सभापतिमा अकबर चन्द चयन भएका हुन्। अन्य विद्यार्थी संगठनको उम्मेदवारी नपरेकाले अनेरास्ववियुको प्यानल नै स्ववियुमा चयन भएको क्याम्पस प्रमुख कैलाशकुमार कनौजियाले जानकारी दिनुभयो।

गोकुलेश्वरस्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेपछि चुनाव अनिश्चित भएको छ। क्याम्पसले फर्जी विद्यार्थी भर्ना गरेको, परिचय पत्र वितरणमा त्रुटी गरेको लगायतका आरोप लगाउँदै अनेरास्ववियुले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको हो। यद्यपि छलफल गरेर समस्याको समाधान गर्ने प्रयास भइरहेको निर्वाचन अधिकृत राजेन्द्रप्रसाद जोशीले बताउनुभयो। सेटीगाउँ बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी तालमेल गरेर चुनावी मैदानमा छन् भने अनेरास्ववियु एक्लै चुनावी मैदानमा रहेको छ।

स्ववियु सभापतिका लागि नेविसंघ र क्रान्तिकारीका साझा उम्मेदवारको रुपमा नेविसंघका कृष्णसिंह रावल चुनावी मैदानमा छन् भने अनेरास्ववियु रमेश मालको नेतृत्वमा चुनावी मैदानमा उत्रेको छ।

यस्तै सिगास शिक्षा क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया नै अघि बढ्न सकेको छैन्। स्ववियु निर्वाचनका बिषयमा विवाद हुँदा त्यहाँ प्रक्रिया अवरुद्ध भएको बताइएको छ।

यसैबीच पुर्चौडी बहुमुखी क्याम्पसमा चैत ६ गते बुधबार मात्रै स्ववियु निवाचन हुने भएको छ। विद्यार्थी संगठनहरुबीच सहमतिका लागि ढिलो निर्वाचन प्रक्रिया शुरु भएकाले क्याम्पस सञ्चालक समितिको बैठकले चैत ६ गते स्ववियु निर्वाचन गर्ने निर्णय भएको निर्वाचन अधिकृत नवराज जोशीले बताउनुभयो।
यस क्याम्पसमा चैत १ गते मनोनयन दर्ता भएकोमा स्ववियु नेतृत्वका लागि तीनओटा विद्यार्थी संगठनहरु छुट्टाछटुटै चुनावी मैदानमा रहेका छन्।

नेपाल विद्यार्थी संघले उत्तरा महरालाई स्ववियु सभापतिको उम्मेदवार बनाउँदै चुनावी मैदानमा उत्रेको छ भने अनेरास्ववियु विष्णुदत अवस्थीको नेतृत्वमा चुनावी मैदानमा उत्रेको छ। यस्तै अनेरास्ववियु क्रान्तिकारी गीता भण्डारीको नेतृत्वमा चुनावी मैदानमा उत्रेको छ। यो क्याम्पसमा ५ सय ५७ जना विद्यार्थी मतदाता रहेका छन्।

Leave A Reply

Your email address will not be published.