बैतडी: शिक्षकहरुको आन्दोलनका कारण बैतडीका चार स्थानीय तहमा परीक्षा स्थगित भएको छ। यहाँको दोगडाकेदार गाउँपालिका,पाटन, दशरथचन्द र मेलौली नगरपालिकाले सञ्चालन गर्ने तयारी गरेको आधारभुत तहको ग्रेडवृद्धि परीक्षा स्थगित गरेका हुन्।
दशरथचन्द नगरपालिकामा वैशाख १५ र १६ गतेका लागि तय भएको कक्षा ८ को पुनर्योग र गे्रडवृद्धि परीक्षा स्थगित गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनचन्द्र पाण्डेय जानकारी दिनुभयो। शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा प्रभावित हुने देखिएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।
मेलौली नगरपालिकाले पनि एक सूचना जारी गर्दै यहि वैशाख १५ र १६ गते सञ्चालन गर्ने भनिएको आधारभुत तह कक्षा ८ को पुनर्योग र ग्रेडवृद्धि परीक्षा स्थगित गरिएको जनाएको छ। शिक्षक महासंघको आन्दोलनका कारण अर्को सूचना प्रकाशित नगर्दा सम्म परीक्षा स्थगित गरिएको निमीत्त प्रमुख प्रशासकीय अधिकृत जगदिशप्रसाद भट्टद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। पाटनले वैशाख १२ र १३ गते सञ्चालन गर्ने भनिएको ग्रेडवृद्धि परीक्षा स्थगित गरिएको जनाएको छ।
यस्तै शिक्षक महासंघको आन्दोलनका कारण जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि आधारभुत तह कक्षा ५ र कक्षा ८ को ग्रेडवृद्धिका परीक्षा स्थगित गरेको छ। शैक्षिक सत्र २०८१ का लागि कक्षा ५ र कक्षा ८ को ग्रेडवृद्धि परीक्षा वैशाख १२ गतेदेखी सञ्चालन गर्ने भनिएको भएपनि शिक्षकहरुको आन्दोलनका कारण अर्को सूचना जारी नहुदाँ सम्मका लागि स्थगित गरिएको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशीले बताउनुभयो।
आन्दोलनका कारण परीक्षाका साथै नयाँ शैक्षिक सत्रका सम्पूर्ण गतिविधिहरु समेत प्रभावित बनेका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भएको भन्दै देशभरका शिक्षकहरूले काठमाडौंमा तीन हप्तादेखि अनिश्चितकालिन सडक आन्दोलनमा रहेका छन्।
शिक्षा ऐनमा यसअघि शिक्षकहरूसँग भएका सहमतिका बुँदाहरूलाई समावेश गर्नुपर्ने आन्दोलनरत शिक्षक कर्मचारीहरूको माग छ।