बैतडी-डडेल्धुराको अजयमेरु गाउँपालिका-४ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । गाउँपालिकाभित्रका वडाहरुलाई पूर्णखोप सुनिश्चित वडा घोषणा गर्ने अभियान अन्तरगत सोमबार एक कार्यक्रमको आयोजना गर्दै वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको वडा अध्यक्ष टीका बहादुर बिष्टले बताउनुभयो ।
वडाभित्र रहेका खोप पाउनुपर्ने ५ बर्षमुनिका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाइसकेको एकीन भएपछि वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हो ।
हरेक बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन गरेपछि हरेक बर्ष वडा लाई पूर्णखोप घोषणा गर्ने गरिएको चिपुर स्वास्थ्य चौकीका प्रमुख मनोज पनेरुले बताउनुभयो ।
अजयमेरु गाउँपालिका वडा न-४ का वडा अध्यक्ष टीका बहादुर बिष्टको अध्यक्षतामा भएको पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यक्रममा अजयमेरु गाउँपालिकाका उपाध्यक्ष बसन्ती पाल प्रमुख अतिथी रहेका थिए ।
यसैबीच पूर्ण खोप सुनिश्चित वडा घोषणामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै २ जना खोप कार्यकर्ता र १४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ ।