मेलौलीका २ लगायत बैतडीमा ३८ खानेपानीका मूहानमा ‘कोलिफर्म’ भेटियो

बैतडीमा खानेपानीका मूहानमा ‘कोलिफर्म’ भेटिएको छ। स्वास्थ्य कार्यालयले जिल्लाका ९ ओटा स्थानीय तहका विभिन्न स्थानमा रहेका मूहानबाट जाँचका लागि नमूना संकलन गरि परीक्षण गर्दा ३८ ओटा मूहानको पानीमा कोलिफर्म भेटिएको हो।

शिवनाथ गाउँपालिका बाहेकका स्थानीय तहका १६४ ओटा मूहानबाट नमूना संकलन गरिएको स्वास्थ्य कार्यालयका ल्याब असिष्टेन्ट धर्मानन्द बडूले बताए। स्वास्थ्य कार्यालयले जेठ र असारमा नियमित रुपमा प्रयोग भइरहने मूहानबाट नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गरेको थियो।

सबैभन्दा धेरै पुर्चौडी नगरपालिकाका खानेपानीका मुहान दुषित रहेको पाइएको छ । ३२ ओटा नमूना संकलन गरी परीक्षण गर्दा १५ मा कोलिफर्म भेटिएको हो। पाटनमा १३ मध्ये ९, सिगासबाट १५ ओटा नमूना संकलन गरि परीक्षण गर्दा ७ मुहानमा कोलिफर्म भेटिएको छ।

यस्तै दशरथचन्दमा ४ मध्ये १, दोगडाकेदारमा २१ मध्ये १, डिलाशैनीमा ६ मध्ये १, पञ्चेश्वरमा १६ मध्ये १, मेलौलीमा ३७ मध्ये २ र सुर्नयमा २० मध्ये १ मा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना संकलन गरि परिक्षण गर्दा दिसामा हुने किटाणु कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीका ल्याव टेक्नीसियन निरीक्षक जयसिंह बडालले जानकारी दिए। खानेपानीका मूहानको सरसफाइ तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मूहानमा मिसिन गइ दुषित हुने गरेको उनले बताए।

उपभोक्तालाई स्वच्छ पानी पुर्याउन स्थानीय तहहरुलाई पनि खानेपानी सुरक्षा योजना लागू गर्न भनिएको छ। खानेपानीका मूहान तथा धाराहरु सफा गर्न सुझाव पठाइएको ल्याव टेक्नीसियन निरीक्षक बडालले जानकारी दिए।

पानीको मूहान, इन्टेक र धाराहरूलाई नियमित सरसफाइ गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टल बताए। दुषित पानीको प्रयोगले झाडापखाला, टाइफाइड, हैजा र आउँजस्ता विभिन्न सरुवाको रोगको संक्रमण बढ्ने भएकाले पानी शुद्धीकरण गरेरमात्रै प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

Leave A Reply

Your email address will not be published.