पुर्चौंडीमा ससुराले बुहारीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक

बैतडी-बैतडीको पुर्चौंडी नगरपालिका–१० मा ससुराले बुहारीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक पुरुषले बुहारीमाथि लुछाचुँडी गरेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न अधिकारकर्मीहरुले माग गरेका छन्।

महिलामाथि हुने हिंसा, अपमान तथा अमानवीय व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य नहुने भन्दै घटनाको निष्पक्ष छानबिन गर्न उनीहरुले सम्बन्धित निकायसँग आग्रह गरेका छन्। घरेलु हिंसाका घटनालाई ‘घरको कुरा’ भन्दै लुकाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने अधिकारकर्मीहरुको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय बैतडीले भने सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका विषयमा जानकारी लिने काम भइरहेको जनाएको छ। भिडियोको वास्तविकताबारे बुझ्न तल्लादेही प्रहरी चौकीलाई निर्देशन दिइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

पुर्चौंडी नगरपालिका–१० का वडाध्यक्ष हिक्मतबहादुर बिष्टका अनुसार देवरानी र जेठानीबीच विवाद भएपछि देवरानी माइत जाने क्रममा ससुराले नजान आग्रह गर्दै बुहारीमाथि लुछाचुँडी गरेको जानकारी आएको छ। घटनापछि माइती पक्ष र घर पक्षबीच छलफल गरी मिलापत्रसमेत भएको जानकारी आफूलाई आएको वडाध्यक्ष बिष्टले बताए।

Leave A Reply

Your email address will not be published.