बैतडी-बैतडीमा वडाको संख्या तथा सीमाना हेरफेरका लागि आवश्यक प्रक्रिया अघि बढाइने भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गठित अध्ययन समितिको सोमबार बसेको बैठकले स्थानीय तहका वडाको संख्या तथा सीमाना हेरफेरका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
गाउँपालिका तथा नगरपालिका वडा विभाजन/संख्या तथा सीमाना हेरफेर सम्बन्धी मापदण्ड, २०८३ अनुसार जिल्लामा अध्ययन समिति गठन गरिएको र समितिको बैठकले मापदण्डअनुसार आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख एवं अध्ययन समितिका संयोजक खगेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
समितिले जिल्लाका सबै स्थानीय तहलाई मापदण्डअनुसार वडाको संख्या तथा सीमाना हेरफेरका लागि आवश्यक कागजात सात दिनभित्र बुझाउन लिखित आग्रह गरेको छ । स्थानीय तहबाट प्राप्त विवरणका आधारमा थप प्रक्रिया अघि बढाइने धामीले बताउनुभयो ।
बैतडीमा हाल १० स्थानीय तहअन्तर्गत ८४ वडा रहेका छन् ।