उद्योग-व्यवसाय वातावरणमैत्री बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

काठमाडौं-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालका उद्योग–व्यवसायहरूले अहिले अनेकौं चुनौतीको सामना गरिरहेको बताएका छन् । नेपाल इट्टा उद्योग महासंघको १७औँ साधारणसभा तथा छैटौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले आर्थिक स्थिति अस्थिर हुँदा लगानीमा जोखिम बढेको र त्यसको समाधान छलफल तथा बहसमार्फत खोज्नुपर्ने आवश्यकता औंल्याए ।

उनका अनुसार जलवायु परिवर्तन थप चुनौतीका रूपमा देखिएको छ, जसका कारण उद्योगीहरूले उत्पादनमा अवरोध भोगिरहेका छन् । यस्तो परिस्थितिमा गुणस्तर कायम राख्दै वातावरणमैत्री प्रविधिको प्रयोग गर्नु अपरिहार्य रहेको उनको भनाइ छ ।

नेपाल–चीनबीचको व्यापार र औद्योगिक सहकार्य महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै मन्त्री भण्डारीले उद्योगहरूले गुणस्तरको प्रमाणपत्र प्राप्त गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता औंल्याए ।

मन्त्री भण्डारीले उद्योग व्यवसायीलाई कानुनको पालना गर्दै वातावरणमैत्री ढङ्गले उद्योग सञ्चालन गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए। कानुन विपरीत क्रियाकलाप सञ्चालन गर्ने उद्योगीको अनुमतिपत्र खारेज गर्ने बताउँदै उनले मापदण्ड विपरीत सञ्चालन भइरहेका उद्योगका कारण वातावरणमा परेको नकारात्मक असरलाई सरकारले अब हेरेर नबस्ने स्पष्ट पारे ।

“यदि उद्योग व्यवसायीले नियम पालना गरेन भने वातावरणीय समस्या उत्पन्न हुन्छ र वातावरण, खेतीपाती तथा उत्पादनलाई हानि पुर्याउँछ,” मन्त्री भण्डारीले भने, “त्यसैले सरकारले कडाइका साथ अनुगमन गरी समस्या समाधान गर्नेछ ।”उनले उद्योगीहरूले भोगिरहेको आर्थिक मन्दीको अवस्थालाई सरकार बुझेको र त्यसमा आवश्यक सहुलियत प्रदान गर्न छलफल तथा समन्वय गर्न तयार रहेको बताए । उद्योगीका समस्या, मुनाफामा देखिएको संकट लगायतका विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ ।

इट्टा उद्योग प्राथमिकतामा राख्नुपर्ने भन्दै मन्त्री भण्डारीले घर, भवन तथा निर्माणका सबै क्रियाकलाप इट्टामै आधारित हुने भएकाले इट्टा व्यवसायीको साथमै सरकार रहेको उल्लेख गरे । उद्योगहरू प्रविधियुक्त, गुणस्तरीय र जलवायु परिवर्तनको असर कम गर्ने ढङ्गबाट सञ्चालन हुनुपर्नेमा उनले जोड दिए ।

महासंघका अध्यक्ष शंकर बहादुर चन्दले मन्त्री भण्डारीलाई उद्योगीमैत्री नेता भन्दै प्रशंसा गरे । उनले उद्योगीका मागलाई सहजै सुन्ने, सम्बोधन गर्ने र प्रमुख समस्या समाधान गर्ने मन्त्री भण्डारीको भूमिकाप्रति आभार प्रकट गरे ।

Leave A Reply

Your email address will not be published.