मधेशका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आउँदो शनिवार कात्तिक २८ गते दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।

प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो ।

विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्न लागिएको मुख्यमन्त्री यादवले बताउनुभएको छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गएको असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

यस्तै सरकारमा सहभागी नेकपाका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सत्तारूढ दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढाउनुभएको छ । १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

मधेश प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी ९जसपा० नेपालका २७, नेकपाका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का एक–एक सदस्य छन् ।

Leave A Reply

Your email address will not be published.