आज देशका धेरै ठाउँमा दिनभरजसो झरी पर्ने सम्भावना

आज पनि देशका धेरै ठाउँमा दिनभरजसो झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

गएराति कोशी र मधेश प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ। सर्लाही, सप्तरी, रौतहट, उदयपुरलगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। ठूलो पानी परेका ठाउँमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएको र खतरास्वरुप रातो बत्ती बालिएको छ।

Leave A Reply

Your email address will not be published.