दशैंको मुख्य दिनहरु सुरु भइसक्दा पनि देशभर बर्षा र बदली भइरहेको छ। दशैंमा घमाइलो दिन हुने गरेकोमा यस वर्ष आज फुलपातीका दिन पनि देशका धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी परिरहेको हो। काठमाण्डौ उपत्यका सहितका धेरै ठाउँमा गएरातीदेखि नै पानी परिरहेको छ।
देशका कतिपय ठाउँमा अत्यधिक बर्षा समेत भएको छ। जल तथा मौसम विज्ञान विभागको विवरण अनुसार रूकुमपश्चिमको बाफीकोटमा पछिल्लो १२ घन्टामा एक सय ४६ दशलमव ४ मिलिमिटर वर्षा भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसेमा ८३ दशमलव ४, कास्कीको लामापाटनमा ६० मिलिमिटर वर्षा भएको छ। महाशाखाका अनुसार अहिले कोशी, बागमती, सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली भई कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रहेर स्थानीय वायूको प्रभाव रहेको छ।
यसपालीको दशैंभर नै बदली तथा वर्षाको संभावना छ। जल तथा मौसम विज्ञान विभागले दशैं विशेष मौसम बुलेटिन निकालेर अष्टमी, नवमी र दशमीको दिनमा पनि पानी पर्ने जनाएको छ। विभागका अनुसार अष्टमी र नवमीको तुलनामा दशमी अर्थात् दशैंको टीकाको दिनमा धेरै ठाउँमा पानी पर्ने सम्भावना छ।