एसिया कप क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ। गएराति दुबईमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो। यस्तै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय ४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्यो। अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलकले एक चौका र ३ रन तथा रिंकु सिंहले एक चौका प्रहार गरे। भारतका लागि तिलक बर्माले ६९ रन बनाए। पाकिस्तानका लागि फाइम अस्रफले तीन विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै एक सय ४६ रन बनाएको थियो। पाकिस्तानका सहिबजादा फरहानले ५७ रन बनाए। बलिङतर्फ भारतका लागि कुलदीप यादवले सर्वाधिक चार विकेट लिए।