आउँदो महाधिवेशनबाट आफु कांग्रेस सभापति नरहने : देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आउँदो १५ औं महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व छोड्ने दोहोर्याउनुभएको छ।
जेनजी आन्दोलनपछि आज पहिलो पटक सार्वजनिक हुनुभएका उहाँले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा अहिले पार्टीमा नेतृत्व हस्तान्तरणको सवाल उठेको उल्लेख गर्दै १५औं महाधिवेशनबाट आफू पार्टीको नेतृत्वमा नरहने स्पष्ट पार्नुभएको हो।
सभापति देउवाले घरमा सधैँ एकै जना मूली नरहने दृष्टान्त पेश गर्दै पार्टीको वैधानिक व्यवस्था र आफ्नो राजनीतिक इच्छा पनि अब पार्टीको नेतृत्वमा नरहने रहेको उल्लेख गर्नुभयो। आफूले यसअघि नै १५ औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा नरहने कुरा भनिसकेको स्मरण गराउँदै अब नयाँ नेताले पार्टी सभापतिको जिम्मेवारी लिनेमा कुनै द्विविधा नरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘घरमा सधैँ एकै जना मूली रहँदैन। पार्टीमा पनि हमेशा एकै जना सभापति रही रहँदैन। मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु भनिसकेको छु। आउँदो १५औं महाधिवेशनबाट म बाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन।’