युवा अभियानकर्मी मिराज ढुंगानाले ‘गरिखान देऊ’ अभियानलाई नयाँ राजनीतिक दलको स्वरूप दिने घोषणा गरेका छन्। आज (शनिबार) काठमाडौंको एभरेष्ट इन्टरनेसनल होटल, नयाँ बानेश्वरबा नयाँ राजनीतिक दल घोषणाको तयारीमा जुटेको जानकारी दिएका हुन्।
ढुंगानाले देशमा विद्यमान समस्याहरूको समाधानका लागि परम्परागत राजनीतिक प्रणाली पर्याप्त नभएको भन्दै वैकल्पिक शक्तिको आवश्यकता औंल्याए। उनले आगामी मार्गचित्र स्पष्ट पार्दै भने, ‘देश अहिले विषम परिस्थितिमा छ। भदौ २४ को ऐतिहासिक विद्रोहमा ४६ जनाको बलिदानले प्राप्त उपलब्धिहरूको रक्षा र देशको आगामी निकास आजको आवश्यकता हो।’
ढुंगानाले आफ्नो नयाँ दलको मुख्य एजेन्डाका रूपमा तीन प्रमुख मागहरू अघि सारेका छन्:-
१-प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री : देशमा राजनीतिक स्थिरता र प्रभावकारी शासनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली अपरिहार्य रहेको उनको भनाइ छ। यसले प्रधानमन्त्रीलाई जनताप्रति थप जवाफदेही बनाउने र अस्थिर सरकारको अन्त्य गर्ने विश्वास उनको छ।
२-विदेशमा रहेका नेपालीलाई मताधिकार : लाखौंको संख्यामा विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि ढुंगानाको प्राथमिकतामा परेको छ। यसले देशको निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्ने र राष्ट्र निर्माणमा उनीहरूको भूमिकालाई स्वीकार गर्ने उनको तर्क छ।
३-भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको संरचना : देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि सशक्त नागरिक तहको संरचना आवश्यक रहेको ढुंगानाले बताए। यसले राज्यका निकायहरूलाई जवाफदेही बनाउनुका साथै सुशासन कायम गर्न मद्दत पुग्ने उनको धारणा छ।
ढुंगानाले यी मागहरू पूरा नभएसम्म आफ्नो दल निर्वाचनमा सहभागी नहुने स्पष्ट पारेका छन्। उनले भने, ‘राजनीतिक दल खोल्नुको अर्थ यो होइन कि( हामी देशको अहिले भएकै अवस्थामा निर्वाचनमा जान्छौं। जबसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्न नागरिक तहको संरचना बन्दैन तबसम्म हामी निर्वाचनमा जानेवाला छैनौं।’
सूचना
