रुकुम पश्चिम-रुकुम पश्चिममा बोलेरो जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
आज बेलुकी साढे ५ बजेतिर खलंगाबाट स्यालाखाँदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको यात्रुवाहक जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा दुर्घटना भएको हो।
जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले थाहाखबरलाई जानकारी दिए।
मृतक सातजनामध्ये ६ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला वली, टेकजंग बुढा, दिलमाया बुढा, मनिका वली, शर्मिला विक र २२ वर्षीय गोपाल वली छन्। मृतक एकजना महिलाको भने पहिचान खुल्न बाँकी छ।
जिल्ला प्रहरी प्रवक्ता हरि पुनका अनुसार घाइते १० जनाको पनि परिचय खुलिसकेको छैन।
घाइतेहरूको उद्धार गरी अस्पताल पठाइएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। जिप सडकबाट झन्डै सात सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।