बैतडी: नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको स्वर्णिम युग सुरु भएको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी टुरका क्रममा कैलालीको टीकापुर उद्यानमा भएको ट्रफी टुरको शुभारम्भ कार्यक्रममा अध्यक्ष चन्दले पछिल्लो समयमा नेपालमा लोकप्रिय खेलका रुपमा क्रिकेट उदाएको बताए। “यो क्रिकेटको स्वर्णिम युग हो। यसभन्दा पहिले नेपाली क्रिकेट यो उचाइमा कहिल्यै पुगेको थिएन,” उनले भने, “यो अवस्थासम्म पुग्नका लागि नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको महत्वपूर्ण हात छ।”
नेपाललाई विश्वमा चिनाउनका लागि क्रिकेटले विशेष भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष चन्दले विश्वभरबाट माया र सहानुभूति पाइरहेको बताए। नेपाल प्रिमियर लिग (एनपिएल)ले क्रिकेटलाई थप बलियो बनाएको भन्दै उनले खेलाडीहरुलाई व्यावसायिक बनाउनमा मद्दत गर्दै गएको उल्लेख गरे। “अहिले क्रिकेट सबैभन्दा बढी लोकप्रिय खेल बनेको छ। यसमा हामीलाई गर्व महसुस हुन्छ,” अध्यक्ष चन्द भन्छन्, “एनपिएल सुरु भएपछि झन् क्रिकेट खेलाडी उत्पादन हुने क्रम बढ्दै गएको पाइन्छ। यो खुसीको कुरा हो।”
खेलकुदका क्षेत्रमा सधैँ सुदूरपश्चिम अग्रपङ्क्तिमा देखिने गरेको बताउँदै अध्यक्ष चन्दले हरेक खेलमा सुदूरपश्चिमका खेलाडीको प्रतिनिधित्व सबैभन्दा बढी देख्न पाइने गरेको बताए।