गएको मंसिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेटमा आजदेखि प्लेअफका खेलहरु शुरू हुँदैछन्।
दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुँदैछ। सुदूरपश्चिम रोयल्स अघिल्लो संस्करणको उपविजेता हो। यस्तै इलिमिनेटरमा भोलि दिउँसो ४ बजे काठमान्डु र लुम्बिनी खेल्दैछन्। पहिलो क्वालिफायर जित्ने टोली सीधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ।
यस्तै इलिमिनेटमा जित्ने टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्न पाउनेछ भने पराजित हुने टोली बाहिरिनेछ। दोस्रो क्वालिफायर आउँदो बिहिवार हुनेछ । दोस्रो संस्करणको एनपीएलको फाइनल खेल आउँदो शनिवार हुनेछ । लिग चरणका खेल सकिँदा ब्याटिङतर्फ विदेशी खेलाडी र बलिङतर्फ नेपाली खेलाडीको प्रदर्शन राम्रो रहेको छ। ब्याटिङतर्फ पोखरा एभेन्जर्सका एडम रोसिङ्टन एक शतक र दुई अर्धशतकसहित ३ सय २३ रन बनाएर शीर्ष स्थानमा छन्।
यस्तै कर्णाली याक्सका मार्क वाट १ शतक र १ अर्धशतकसहित २ सय ४६ रन बनाएर दोस्रो तथा चितवन राइनोजका रवि बोपारा ३ अर्धशतकसहित २ सय ३७ रन बनाएर तेस्रो स्थानमा छ। ब्याटिङतर्फ धेरै रन बनाउने नेपाली खेलाडीमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेल छन्, उनले १ अर्धशतकसहित २ सय ८ रन बनाएका छन्।
यस्तै सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले १ अर्धशतकसहित २ सय १ रन बनाएर रोहितलाई पछ्याइरहेका छन्। यस्तै बलिङतर्फ विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने १५ विकेट लिँदै शीर्ष स्थानमा छन्।
यस्तै सुदूरपश्चिमका अविनाश बोहरा १४ विकेटसहित दोस्रो, काठमान्डुका शाहब आलम १२ विकेटसहित तेस्रो स्थानमा छन्। काठमान्डुका कप्तान करण केसीले पनि १२ विकेट लिएका छन् । सुदूरपश्चिमले लिग चरणमा एउटा मात्रै हार बेहोर्यो। आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम विराटनगरसँग पराजित भयो । विराटनगरले ५ वटा खेल जित्दा २ वटामा हार बेहोर्यो।
विराटनगरले पहिलो संस्करणमा आफ्नै नाममा रहेको सर्वाधिक १ सय ९३ रनको कीर्तिमानलाई तोड्दै यसपालि २ सय २० रन बनायो। विराटनगरले शीर्ष स्थानको सुदूरपश्चिमलाई हरायो। साथै विराटनगरले विश्व क्रिकेटमा चर्चित दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई टोलीमा भित्र्यायो।
काठमान्डुले पनि ५ वटा खेल जित्दा तालिकाको शीर्ष स्थानमा रहेका सुदूरपश्चिम र विराटनगरसँग हार बेहोर्यो। काठमान्डुले पहिलो खेलमै पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई हरायो।
नेपाली राष्ट्रिय टोलीका कप्तानको नेतृत्वमा रहेको लुम्बिनीले पहिलो खेल जिते पनि त्यसपछि लगातार तीन खेलमा पराजित र तीन खेलमा लगातार जीत निकाल्दै प्लेअफमा पुग्यो। लुम्बिनीले जनकपुर र अहिले शीर्ष दुईमा रहेको विराटनगरलाई हरायो।
पोखराले ३ खेलमा जीत र ४ खेलमा हार बेहोर्यो। पोखराले जनकपुरलाई हरायो । जिम्मी नीशम र एडम रोसिङ्टनजस्ता खेलाडी भए पनि तालमेल नमिल्दा पोखरा प्लेअफमा पुग्न सकेन। कर्णालीले २ खेलमा जीत र ५ खेलमा हार बेहोर्यो। कर्णालीले लुम्बिनी र जनकपुरलाई हरायो। जीतका साथ प्रतियोगिता शुरू गरेको चितवनले त्यसपछि लय गुमाउन पुग्यो।
पहिलो संस्करणको विजेता जनकपुरले यसपालि बिर्सनलायक प्रदर्शन गर्यो। जनकपुर यसपालि एक मात्र जीत हात पर्दै तालिकाको पुछारमा रह्यो। जनकपुरले शुरूका ४ वटै खेल हार्न पुग्यो। जनकपुरले एकमात्र जीत निकाल्ने क्रममा चितवनलाई हरायो।
एनपीएलका कुल ३२ मध्ये लिग चरणका १९ वटा खेल फ्लडलाइटमा भए। अबका ४ वटै खेल पनि फ्लडलाइटमा नै हुनेछन्। पहिलो संस्करणमा केही सङ्ख्यामा मात्र चर्चित खेलाडीहरू आएर खेलेको एनपीएलमा यस पटक पहिलेभन्दा धेरै विदेशी खेलाडीहरू अनुबन्ध हुँदा एनपीएलको रौनक शहरदेखि गाउँसम्मै पुगेको छ।