बैतडी : पूर्व प्रधानमन्त्री एवं बरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई सामूहिक अभिनन्दन गरिएको छ।
सोमबार काठमाण्डौंमा ताराकिसन फाउण्डेशनसहित १ सय १ साहित्यक संस्थाले संयुक्त रुपमा पूर्व प्रधानमन्त्री चन्दलाई अभिनन्दन गरेको हो। नेपाली साहित्यको क्षेत्रमा चन्दले अतुलनीय योगदान गरेको भन्दै अभिनन्दन गरिएको हो। ताराकिसन फाउण्डेशनका संरक्षक राधेश्याम लेकालीसहितका व्यक्तिहरुले पूर्व प्रधानमन्त्री चन्दलाई अभिनन्दन गरेका हुन्।
बैतडीको सुर्नया गाउँपालिका–२ कुरुकुटियाँमा जन्मेका पूर्व प्रधानमन्त्री चन्दलाई साहित्यक क्षेत्रमा लोचनका नामले चिन्ने गरिन्छ। ८७ बर्षीय चन्द अहिले समेत साहित्यक क्षेत्रमा क्रियाशील रहेका उनका स्वकीय सचिव केशवबहादुर चन्दले बताए।
चन्दका १५ भन्दा बढी साहित्यक कृतिहरु प्रकाशित भइसकेका छन्। चार पटक देशको प्रधानमन्त्री बनिसकेका चन्दलाई निष्कलंक नेताको रुपमा चिन्ने गरिएको छ।
नेपालको राजनीति र साहित्यक क्षेत्रमा चन्दको महत्वपूर्ण योगदान रहेको छ।