बैतडीमा पासोमा फसेको चितुवाको सकुशल उद्धार गरिएको छ। आइतबार राति जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीको जीमराडीमा चितुवा पासोमा फसेको थियो।
आइतबार राति पासोमा फसेको चितुवालाई मंगलबार बिहान ११ बजेतिर सकुशल उद्धार गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी नरेश कर्णले बताए।
स्थानीयहरुले थापेको पासोमा चितुवा फसेको थियो। चितुवाको दाँया खुट्टा पासोमा फसेको र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले उद्धार गरेको सूचना अधिकारी कर्णले बताए।
पासोमा फसेको चितुवालाई डार्टिङ अर्थात बेहोस गरेर उद्धार गरिएको बताइएको छ। उक्त चितुवालाई सिगास संरक्षित वन क्षेत्रमै छोडिने सूचना अधिकारी कर्णले बताए।
पशु चिकित्सकसहितको टोलीले घाइते चितुवाको उपचार समेत गर्नेछ। त्यसपछि आजै जंगलमा छोड्ने तयारी भएको कर्णले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरुको टोली आउनुपर्ने भएकाले चितुवाको उद्धारमा ढिलाइ भएको बताइएको छ।
सामुदायिक वनको हाताभित्र थापेको पासोमा चितुवा फसेपछि डिभिजन वन कार्यालयले सामुदायिक वनलाई पत्राचार समेत गरेको छ। सामुदायिक वनको हाताभित्र कसले, के प्रयोजनका लागि पासो थापेको हो भन्ने कुरा खुलाउन पत्राचार गरिएको सूचना अधिकारी कर्णले बताए।