बैतडीमा १ हजार ३७५ जना निर्वाचन प्रहरी भर्ना गरिने
बैतडी: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १ हजार ३७५ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।
निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समितिले जिल्लामा आवश्यक पर्ने निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। नेपाल प्रहरीतर्फ १ हजार २७९ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ ९६ जना निर्वाचन प्रहरी भर्ना गरिने उनले बताए।
निर्वाचन प्रहरीका लागि आगामी माघ १ गतेसम्म आवदेन दिन सकिने प्रहरी निरीक्षक सिंहले बताए। जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीमा आवदेन दिन सकिने बताइएको छ। निर्वाचन प्रहरीमा छनौट भएकाहरुलाई निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ बमोजिम सुविधा उपलब्ध गराइनेछ।
निर्वाचन प्रहरीका लागि दरखास्त दिने व्यक्ति १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने प्रहरी निरीक्षक सिंहले बताए। विशेष गरी पूर्व सुरक्षाकर्मी, पूर्व वन रक्षक, यसअघि म्यादी प्रहरीका रूपमा काम गरिसकेका व्यक्ति तथा सुरक्षा निकायबाट सेवानिवृत्त भएकालाई प्राथमिकता दिइने जनाइएको छ।
बैतडीमा निर्वाचन प्रहरीका लागि आवेदन दिनेको संख्या बढ्दै गएको प्रहरी निरीक्षक सिंहले बताए। आवेदकको प्रारम्भिक छनोट माघ ५ देखि ९ गतेसम्म गरिने र अन्तिम नतिजा माघ १२ गते प्रकाशित गरिने छ। छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइनेछ।