बैतडी: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा १ सय २९ मतदानस्थल र २ सय १४ मतदान केन्द्र कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार यो निर्वाचनका लागि चारओटा मतदान केन्द्र थप भएका छन् एक मतदान केन्द्र कटौती भएको छ। मतदानस्थल भने अघिल्लो निर्वाचनकै यथावत रहेका छन्।
जिल्लाका १० ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २२ ओटा मतदानस्थल र ३४ ओटा मतदान केन्द्र कायम गरिएका छन्। यस्तै पाटन नगरपालिकामा १९ ओटा मतदानस्थल र २९ ओटा मतदान केन्द्र कायम गरिएका छन्। पुर्चौंडी नगरपालिकामा १७ ओटा मतदानस्थल र ३० ओटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए।
यस्तै सिगास गाउँपालिकामा १४ ओटा मतदानस्थल र २० ओटा मतदान केन्द्र कायम गरिएका छन्। मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा समान १२ ओटा मतदानस्थल र २० ओटा मतदान केन्द्र कायम गरिएका छन्।
यस्तै डिलाशैनी गाउँपालिकामा ९ ओटा मतदानस्थल र १७ ओटा मतदान केन्द्र कायम गरिएका छन्। ९ ओटा मतदानस्थल रहेको पञ्चेश्वरमा १५ ओटा मतदान केन्द्र रहेका छन्। यस्तै सुर्नया गाउँपालिकामा ८ ओटा मतदानस्थल र १५ ओटा मतदान केन्द्र कायम गरिएका छन् भने शिवनाथ गाउँपालिकामा ७ ओटा मतदानस्थल र १४ ओटा मतदान केन्द्र कायम गरिएका छन्।