मेलौलीमा निर्वाचन लक्षित सुरक्षा कडा पार्दै प्रहरी गस्ती सुरु

बैतडी : फागुन २१ गते हुने आसन्न निर्वाचनलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय मेलौलीले आजदेखि गाउँ–गाउँमा चुनाव केन्द्रित प्रहरी गस्ती सुरु गरेको छ। शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यले सुरक्षा सक्रियता बढाइएको हो।

आज पहिलो दिन मेलौली नगरपालिकाको वडा न १, ५ र ६ मा प्रहरी गस्ती सुरु गरिएको कार्यालय प्रमुख नरेन्द्र बहादुर चन्दले बताउनुभयो। ग्रामीण बस्ती, मतदान केन्द्र आसपासका क्षेत्र तथा संवेदनशील स्थानहरूमा विशेष निगरानी राखिने उहाँले बताउनुभयो।

कुनै पनि अवाञ्छित गतिविधि, चुनाव बिथोल्ने प्रयास तथा शान्ति सुरक्षामा असर पुग्ने काम हुन नदिन नियमित गस्ती, चेकजाँच र समुदायसँग समन्वय बढाइएको बताइएको छ। इलाका प्रहरी कार्यालय मेलौलीले सर्वसाधारणलाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दै शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी इकाईमा खबर गर्न पनि अनुरोध गरेको छ।

स्थानीय बासिन्दासँग सहकार्य गर्दै सुरक्षित निर्वाचन वातावरण कायम गर्न प्रहरी सक्रिय रूपमा परिचालित भएको जनाइएको छ। चुनाव नजिकिँदै जाँदा सुरक्षा व्यवस्था थप कडा पारिने र आवश्यकता अनुसार थप जनशक्ति परिचालन गरिने सुरक्षा स्रोतले जनाएको छ।

Leave A Reply

Your email address will not be published.