वृद्धवृद्धालाई राहतः बैतडीको मेलौलीले वडामै पुगेर भत्ता बाँड्दै

बैतडी : पछिल्लो समय मेलौली नगरपालिका ज्येष्ठ नागरिक र वृद्धवृद्धाहरूलाई राहत दिन नयाँ पहलमा अघि बढेको छ। विगत केहि वर्षदेखी मेलौलीका वृद्धवृद्धाहरूले आफ्नो सामाजिक सुरक्षा भत्ता पाउनका लागि कार्यालय वा बैंकसम्म धाउनु परेको छैन, किनभने नगरपालिकाले वडामै पुगेर भत्ता वितरण गरिरहेको छ।

नगर प्रमुख भिम बहादुर चन्दले भने,“हामीले वडास्तरमै भत्ता वितरण गरेर वृद्धवृद्धाहरूको यात्रा झन्झट, समय र खर्चलाई कम गर्न चाहेका हौँ। यसले उनीहरूको जीवनलाई सहज र सम्मानजनक बनाउनेछ।”

आज मेलौली नगरपालिकाको वडा न ७ मा सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको वडाध्यक्ष रामचन्द्र भट्टले बताउनुभयो। वडा कार्यालय पचकोरामा सामाजिक सुरक्षा भत्ता वितरणको काम भईरहेको वडाध्यक्ष भट्टले जानकारी दिनुभयो।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकाले आफ्ना लाभग्राहीहरूको विवरण संकलन गरी निर्धारित मितिमा भत्ता वितरण सुनिश्चित गरेको छ। स्थानीयवासीहरू एवं वृद्धवृद्धाहरूले यस पहललाई अत्यन्त राम्रो काम भन्दै प्रशंसा गरेका छन।

विशेष गरि अशक्त वृद्धवृद्धाहरूका लागि यो कदम विशेष राहत र सम्मानको संकेत मानिएको छ। केहि वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न भईसकेको र बाकि वडाहरु पनि निरन्तर वितरणको काम भईरहेको मेलौली नगरपालिकाले जनाएको छ।

मेलौली नगरपालिकाले भविष्यमा यस किसिमका अन्य सामाजिक सेवा कार्यक्रमहरू पनि विस्तार गर्ने योजना बनाएको नगर प्रमुख चन्दले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.