बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। ईलाका प्रहरी कार्यालय मेलौलीका इन्चार्ज नरेन्द्र बहादुर चन्दको नेतृत्वमा नेपाल प्रहरी तथा निर्वाचन प्रहरीको टोलीले संयुक्त रूपमा मन्दिर क्षेत्रमा सरसफाइ गरेका हुन्।
सरसफाइका क्रममा मन्दिर परिसरमा छरिएका प्लाष्टिक, कागज तथा सिसाका बोतलहरू संकलन गरिएको थियो। संकलित फोहोर व्यवस्थापन गरी जलाइएको प्रहरीले इन्चार्ज चन्दले बताउनुभयो।
कार्यक्रममा मेलौली धार्मिक सेवा समितिका सचिव दशरथ सिंह नायकको पनि सहभागिता रहेको थियो। उनले मेलौली धार्मिक सेवा समितिका तर्फबाट सरसफाइमा खटिएका नेपाल प्रहरी तथा निर्वाचन प्रहरीलाई धन्यवाद व्यक्त गर्दै यस्ता अभियानले धार्मिक स्थलको संरक्षण र स्वच्छता कायम राख्न महत्वपूर्ण टेवा पुग्ने बताए।
यसअघि हिजो मेलौली बजार क्षेत्रमा पनि सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। सुरक्षाकर्मीको सक्रियतामा सञ्चालन भएका यस्ता अभियानले मेलौली क्षेत्रलाई सफा, सुन्दर र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।