बैतडीको पुर्चौंडीमा ज्वरोका कारण १२ वर्षीया बालिकाको मृत्यु

बैतडीमा ज्वरोका कारण एक बालिकाको मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका –८ मल्लादेहीकी १२ बर्षीया पूजा बोहराको आइतबार राति ज्वरोका कारण मृत्यु भएको बताइएको छ।

उच्च ज्वरोपछि उपचारका लागि हाट स्वास्थ्यचौकीमा पुर्याइएकी बोहराको उपचारकै क्रममा मृत्यु भएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए। बोहरामा देखिएको लक्षणका आधारमा उनमा मेनेन्जाइटिस अर्थात मष्तिष्क ज्वरोको समस्या हुन सक्ने अनुमान गरिएको छ। उक्त क्षेत्रमा ज्वरोका बिरामीहरु नरहेको बताइएको छ।

यसअघि पुर्चौंडी नगरपालिका–१० महरा गाउँमा गएको फागुन ११ र १६ गते मौसमी ज्वरोका कारण एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ। ज्वरोका कारण १० बर्षीय विकास महरा र १३ बर्षीय विनोद महराको मृत्यु भएको थियो।

महरागाउँमा पछिल्लो समयमा भने ज्वरो नियन्त्रणमा आइसकेको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए। महरागाउँमा मौसमी ज्वरोबाट झण्डै २ सय जना प्रभावित भएका थिए । उक्त क्षेत्रमा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली खटिएको थियो।

मौसममा आएको परिवर्तनका कारण यो समयमा ज्वरोका बिरामी बढ्ने भएकाले समयमै स्वास्थ्य संस्थामा सम्पर्क राख्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन्। व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिनुका साथै उमालेको वा शुद्धीकरण गरेको पानी मात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्।

Leave A Reply

Your email address will not be published.