बैतडीसहित सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लागेको चैते नवरात्रा मेलाको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ। मेलौली धार्मिक सेवा समितिले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको मेलाबाट कुल ९१ हजार ३०५ रुपैयाँ आम्दानी भएको छ।
समितिका अनुसार सेवा दर्ताबाट ८५ हजार ७३०, अन्य चन्दाबाट ३ हजार ६०० र दानभेटीबाट १ हजार ९७५ रुपैयाँ संकलन भएको हो।
खर्चतर्फ चौसट्ट सफाइमा ४ हजार, कालिका सफाइमा २ हजार २००, सेवा दर्ता व्यवस्थापनमा ४ हजार र चौकीदार पारिश्रमिकमा ३९ हजार रुपैयाँ खर्च भई जम्मा ५१ हजार ६०० रुपैयाँ खर्च भएको जनाएको छ। यसरी मेलाबाट ३९ हजार ७०५ रुपैयाँ बचत भएको समितिका अध्यक्ष जगदिश सिंह नायकले जानकारी दिनुभयो।
यस वर्षको चैते नवरात्रा मेला शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको समितिले जनाएको छ। मेलाको अवधिभर ११५ राँगा र ११० बोकाको बलि दिइएको छ भने सादा स्याँ १९० गरिएको बताइएको छ।
नवरात्रा सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीयवासी तथा भक्तजनप्रति समितिले धन्यवाद ज्ञापन गरेको छ। साथै आगामी दिनमा मेलालाई अझ व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।