बैतडीको शिवनाथमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। नागरिकलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एक दिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो। स्वास्थ्य कार्यालय बैतडीको प्राविधिक सहयोग तथा शिवनाथ गाउँपालिकाको समन्वयमा उक्त शिविर आयोजना हुन लागेको हो।
स्वास्थ्य शिविर यही चैत १८ गते नागार्जुन आधारभूत स्वास्थ्य सेवा केन्द्र, शिवनाथ गाउँपालिका–०१ डोरममा सञ्चालन हुनेछ। शिविर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा केन्द्रले जानकारी दिएको छ।
शिविरमार्फत विभिन्न किसिमका स्वास्थ्य सेवाहरू प्रदान गरिने छन्। जसअन्तर्गत नसर्ने रोगहरूको परीक्षण, स्वास्थ्य सचेतना तथा परामर्श सेवा, गर्भवती महिलाहरूका लागि ग्रामीण अल्ट्रासाउण्ड सेवा उपलब्ध गराइनेछ। यसका साथै रक्तचाप परीक्षण तथा उपचार, ब्लड सुगर जाँच, उचाइ तथा तौल (मोटोपना) सम्बन्धी परामर्श, दीर्घ श्वासप्रश्वास रोग, मृगौला, क्यान्सर तथा हृदयरोग सम्बन्धी जाँच तथा परामर्श सेवा पनि दिइनेछ।
त्यस्तै मानसिक स्वास्थ्य परामर्श सेवा र आवश्यकताअनुसार निःशुल्क औषधि वितरणको व्यवस्था समेत गरिएको जनाएको छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच बढाउने र समयमै रोग पहिचान तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको हो।
स्थानीय बासिन्दालाई शिविरबाट लाभ लिन समयमै उपस्थित हुन आग्रह गरिएको छ। साथै, यस्ता कार्यक्रमहरूले समुदायमा स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गर्नुका साथै दीर्घकालीन रोगहरूको नियन्त्रणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
