बैतडीको शिवनाथ गाउँपालिका–०३ मा रहेको श्रीपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा विपद्, महामारी तथा असुरक्षाको अवस्थालाई मध्यनजर गर्दै ‘सतर्कता केन्द्र’ स्थापना गरिएको छ। स्थानीय स्तरमा आकस्मिक जोखिमका बेला समयमै सूचना प्रवाह र सचेतना बढाउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो।
केन्द्रका प्रमुख मोहन कलौनीका अनुसार आपतकालीन अवस्थामा करिब १ किलोमिटर क्षेत्रसम्म आवाज पुग्ने गरी साइरन बज्ने र बत्तीसमेत बल्ने व्यवस्था गरिएको छ। यसले गाउँबासीलाई तुरुन्तै सतर्क गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
त्यस्तै, आपतकालीन बत्ती सञ्चालनमा नआउन्जेल वा अन्य समस्या समाधान नभएसम्म विद्युतिय माध्यमबाट माइकिङ गरी सूचना प्रवाह गरिने जनाइएको छ। स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सतर्कता केन्द्र स्थापना भएसँगै स्थानीय बासिन्दामा सुरक्षा सचेतना बढ्ने तथा आकस्मिक घटनामा छिटो प्रतिक्रिया दिन सहज हुने विश्वास गरिएको छ।