शिक्षामा नयाँ अभ्यासः परीक्षा दिएकै दिन उत्तरपुस्तिका जाँच सुरु

बैतडी: परीक्षा नियन्त्रण कार्यालयको निर्देशन अनुसार बैतडीमा परीक्षा केन्द्रमै एसईईको उत्तरपुस्तिका परीक्षण कार्य धमाधम भइरहेको छ। परीक्षा भएकै दिन केन्द्रमै उत्तरपुस्तिका परीक्षणको व्यवस्थापन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए।

देशभरीका केन्द्रमै एसईईको उत्तरपुस्तिका परीक्षण गर्ने निर्देशन अनुसार जिल्लाका २६ ओटै केन्द्रमा उत्तरपुस्तिका परीक्षण काम भइरहेको सूचना अधिकारी शर्माले बताए। अधिकांश केन्द्रहरुले परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षणको काम समेत सम्पन्न गरिरहेका बताइएको छ।

सम्बन्धित केन्द्राध्यक्षले उत्तरपुस्तिका परीक्षणका लागि बिषयगत शिक्षकहरुलाई तोक्ने व्यवस्था गरिएको छ। यसरी उत्तरपुस्तिका परीक्षण गर्दा फरक विद्यालयको शिक्षकले मात्रै उत्तरपुस्तिका परीक्षण गर्न पाउने व्यवस्था गरिएको छ।

उत्तरपुस्तिका परीक्षण गरेर सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पुर्याउने र इकाइले परीक्षा नियन्त्रण कार्यालयमा पठाउने व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए। परीक्षार्थीको नतिजा भने परीक्षा नियन्त्रण कार्यालयले नै प्रविष्ट गर्ने उनले बताए।

बैतडीमा नियमित र ग्रेडवृद्धितर्फका परीक्षार्थीहरुका लागि २५ ओटा केन्द्रमार्फत परीक्षा भइरहेका छन् भने प्राविधिकधारतर्फका परीक्षार्थीहरुका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा केन्द्र राखिएको छ। बैतडीमा यो बर्षको ४ हजार ५५१ जना परीक्षार्थीले एसईई दिइरहेका छन्। नियमिततर्फ १९ सय ६३ छात्र र १९ सय ५८ छात्रा गरी ३ हजार ९२१ परीक्षार्थी रहेका छन्।

यस्तै ग्रेडवृद्धितर्फ २५६ छात्र र ३७४ छात्रा गरी ६ सय ३० परीक्षार्थी रहेका सूचना अधिकारी शर्माले बताए। बैतडीमा १३८ सामुदायिक र ८ ओटा संस्थागत गरी १४२ ओटा विद्यालयका परीक्षार्थीहरुले एसईई परीक्षा दिइरहेका उनले बताए ।

Leave A Reply

Your email address will not be published.