बैतडीमा बालविवाह न्यूनीकरण तथा अन्त्य गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। दलित समाज विकास मञ्च बैतडीको आयोजनामा जिल्ला प्रशासन कार्यालय गढीमा मंगलबार कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बालविवाह समाजमा गम्भीर चुनौतीको रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सबै क्षेत्रको संयुक्त प्रयास अपरिहार्य रहेको बताए। उनले समयअनुसार कानुनी व्यवस्था परिमार्जन गर्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। साथै बैतडी देवभूमिका रूपमा परिचित रहेकाले यहाँ सबै प्रकारका विभेद अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ थियो।
अन्तरक्रियामा सहभागी धार्मिक अगुवाहरूले समाजमा जनचेतना फैलाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै राजनीतिक दलका प्रतिनिधिहरूले नीति निर्माणदेखि कार्यान्वयनसम्म सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको बताए।
कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधिहरूले लागूऔषध सम्बन्धी जानकारी पनि प्रस्तुत गरेका थिए। बालविवाहका कारण पर्ने सामाजिक, शैक्षिक र स्वास्थ्यसम्बन्धी असरबारे सहभागीहरूबीच विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको निष्कर्षमा समुदायस्तरमै सचेतना अभिवृद्धि गर्दै बालविवाह रोकथामका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको औंल्याइएको थियो। मञ्चकी अध्यक्ष सरस्वती नेपालीले बालविवाहसहित अन्य सामाजिक कुरीति अन्त्य गर्न सबै सरोकारवालाले हातेमालो गर्नुपर्नेमा जोड दिइन्।
अन्तरक्रियामा धार्मिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, किशोरी समूह तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।