बैतडी : दूरदराजको गाउँ, सीमित स्रोतसाधन र सामुदायिक विद्यालयको सामान्य शैक्षिक वातावरणबीच एक छात्राले असाधारण सफलता हासिल गरेकी छन्। अजयमेरु गाउँपालिका–५ मटेला खोलि डडेल्धुरास्थित केदार शिशु सुधारक माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा तुलसी कडालले हालै सार्वजनिक भएको कक्षा १० (एसईई) परीक्षाको नतिजामा ३.८७ जिपिए ल्याउँदै डडेल्धुरा जिल्लाभरिका सामुदायिक विद्यालयहरूमध्ये प्रथम स्थान हासिल गरेकी हुन्।
विद्यालयका प्रधानाध्यापक नारायण दत्त पन्तका अनुसार तुलसीले निरन्तर मेहनत, अनुशासन र आत्मविश्वासका कारण यो सफलता हासिल गरेकी हुन्। “तुलसी सुरुदेखि नै अध्ययनमा अब्बल, मेहनती र अनुशासित छात्रा थिइन्। उनले विद्यालयको मात्र नभई समग्र गाउँकै शिर उच्च बनाएकी छन्,” पन्तले बताउनुभयो।
तुलसीको सफलता अहिले अजयमेरु गाउँपालिकाभर चर्चा र प्रेरणाको विषय बनेको विद्यालयका शिक्षक कृष्ण दत्त भट्टले बताउनुभयो।। सामान्य आर्थिक अवस्था र ग्रामीण परिवेश हुँदाहुँदै पनि उनले मेहनत र लगनशीलताले सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिएको विद्यालयका अर्का शिक्षक टेकराज पनेरुले बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिले पनि तुलसीलाई बधाई दिँदै उनको उज्ज्वल भविष्यको कामना गरेको छ। विद्यालयले बधाई दिदैं भनेको छ, “तुलसी कडालले प्राप्त गरेको उत्कृष्ट नतिजाले विद्यालय परिवारलाई गौरवान्वित बनाएको छ। आगामी दिनमा पनि उनले शिक्षा क्षेत्रमा अझ ठूला सफलता हासिल गरून् भन्ने शुभकामना व्यक्त गर्दछौं,” जनाएको छ।
स्थानीय अभिभावक तथा शिक्षकहरूले तुलसीको उपलब्धिलाई ग्रामीण क्षेत्रका विद्यार्थीका लागि प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्। उनका साथीहरूका अनुसार तुलसी दैनिक घण्टौं अध्ययन गर्ने, शिक्षकसँग जिज्ञासा राख्ने र लक्ष्यप्रति दृढ रहने विद्यार्थी थिइन्।
तुलसीले आफ्नो सफलताको श्रेय अभिभावक, शिक्षक र विद्यालयलाई दिँदै भविष्यमा अझ ठूलो लक्ष्य पूरा गर्ने इच्छा व्यक्त गरेकी छन्। “मेहनत गरे असम्भव केही हुँदैन भन्ने महसुस भएको छ,” उनले भनिन्। डडेल्धुराको दुर्गम गाउँबाट आएको यो सफलता अहिले जिल्लाकै गौरव बनेको छ। सामुदायिक विद्यालयबाटै उत्कृष्ट नतिजा ल्याएर तुलसी कडालले प्रमाणित गरेकी छन्— सपना ठूलो भए गाउँको दूरीले रोक्न सक्दैन।