बैतडीको शिवनाथ–१ मा फेरि फैलियो चिकेन पोक्स, बालबालिका र वयस्क प्रभावित

बैतडी-बैतडीको शिवनाथ गाउँपालिका–१ मा चिकेन पोक्सको संक्रमण फेरि फैलिन थालेको छ। नागार्जुन आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख जिबन सिंह साउदका अनुसार करिब एक हप्ता अघि फैलिएको संक्रमण बीचमा केही कम भए पनि पछिल्ला दिनहरूमा पुनः बालबालिका तथा वयस्कहरूमा देखिन थालेपछि त्रास बढेको छ।

कोलिकनला ,गाउसल्ला ,कुड र डोरम टोलमा अहिलेसम्म ६ जना बालबालिका र २ जना वयस्कमा गरि जम्मा ८ जनामा सक्रमण देखिएको छ भने यस अघि ६ जना बालबालिकामा देखिएको थियो ।

संक्रमित व्यक्तिहरूमा शरीरभरि रातो दाना तथा पानी भरिएका फोका देखिने, ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने, कमजोरी महसुस हुने, भोक कम लाग्ने तथा अत्यधिक चिलाउने जस्ता लक्षण देखिएका छन्। बालबालिकामा चिडचिडापन समेत देखिएको  साउदले बताउनुभयो।

उहाँका अनुसार चिकेन पोक्स एक सरुवा भाइरल संक्रमण भएकाले संक्रमित व्यक्तिको सम्पर्कबाट सजिलै फैलिन सक्छ। यसको छुट्टै विशेष औषधि नभए पनि लक्षणअनुसार उपचार तथा घरमै उचित हेरचाह गर्न सकिने बताउनुभयो।

घरमै अपनाउन सकिने सावधानी
पर्याप्त आराम गर्ने
धेरै पानी तथा झोलिलो खानेकुरा खाने
सफा र नरम कपडा लगाउने
नङ छोटो राख्ने ताकि कोट्याउँदा घाउ नबनोस्
चिलाइ कम गर्न क्यालामाइन लोशन प्रयोग गर्ने
ज्वरो आए चिकित्सकको सल्लाह अनुसार प्यारासिटामोल सेवन गर्ने

सास फेर्न गाह्रो हुने, लामो समयसम्म उच्च ज्वरो आउने, आँखा वा मुखभित्र धेरै फोका आउने, अत्यधिक कमजोरी वा बेहोसजस्तो हुने अवस्था देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न साउदले आग्रह गर्नुभएको छ। गर्भवती महिला र साना शिशुमा संक्रमण देखिए विशेष सतर्कता अपनाउनुपर्ने बताइएको छ।

बाच्ने उपाय
Varicella vaccine (चिकेन पोक्स विरुद्धको खोप) लगाउने
संक्रमित व्यक्तिबाट टाढा रहने
हात सफा राख्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिने
समुदायलाई सतर्क रहन, लक्षण देखिए लुकाएर नराख्न तथा आवश्यक परे स्वास्थ्य परीक्षण गराउन साउदले आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.