बैतडीको मेलौली नगरपालिका–०९ विशालपुर स्थित विशालपुर माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक विकास र अनुशासित शैक्षिक वातावरण निर्माण गर्ने लक्ष्यसहित नयाँ समिति चयन गरिएको विद्यालयले जनाएको छ।
नयाँ समितिको अध्यक्षमा लक्ष्मी बिसी चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा कस्तुरा सुन्नी, कृष्णा भट्ट र मञ्जु चन्द चयन भएका छन्। शिक्षक प्रतिनिधिका रूपमा भरत राज जोशी रहनुभएको छ भने वडा प्रतिनिधिमा वडा अध्यक्ष लोकराज भट्ट चयन हुनुभएको विद्यालयले जानकारी दिएको छ। समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक खडकसिंह बिष्ट रहनेछन्।
यसपटकको समिति गठनमा दलित महिलाको समेत प्रतिनिधित्व गराइएको भन्दै स्थानीयहरूले यसलाई समावेशी र सकारात्मक कदमका रूपमा लिएका छन्। नयाँ समितिले विद्यालयको शैक्षिक अवस्था सुधार, विद्यार्थी संख्या वृद्धि, प्रविधिमैत्री शिक्षण सिकाइ र अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।
यसअघि समितिमा रहेर योगदान दिएका व्यक्तिहरूलाई आमन्त्रित सदस्यका रूपमा राखिएको वडा अध्यक्ष लोकराज भट्टले बताउनुभयो। “विद्यालयलाई आवश्यक परेका बेला अनुभव र सुझाव लिन उहाँहरूलाई आमन्त्रित सदस्यका रूपमा बोलाइनेछ,” उहाँले भन्नुभयो।
स्थानीय अभिभावक तथा बुद्धिजीवीहरूले नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिँदै विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्न आग्रह गरेका छन्। विद्यालय क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएको शैक्षिक सुधारलाई अझ प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरिएको छ।