स्वास्थ्य कार्यालय बैतडीको गोदाममा आगलागी

बैतडी: स्वास्थ्य कार्यालय बैतडीको परिसरभित्र रहेको गोदाममा आगलागी भएको छ।

आइतबार दिउँसो साढे ३ बजेतिर परिसरभित्र जस्तापाताले छाएका गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए। गोदाममा प्रयोग गरिसकेका स्वास्थ्य सामग्री र लिलामी प्रक्रियामा रहेका सामग्री राखिएको प्रहरीले जनाएको छ।

जिल्ला अस्पताल बैतडीले प्रयोग गर्दै आएका ती गोदाममा कोभिड– १९ को समयदेखि स्टोर गरिएका औषधी, कागजपत्रहरू र फर्निचर लगायतका सामग्री राखिएका थिए । ती मध्ये केही सामाग्रीहरु जलेर नष्ट भएका छन्।

फोहर जलाउनका लागि बालेको आगोबाट सल्केर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बडूले बताए।

आगलागीको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.