नेपाल पत्रकार महासंघ बैतडीद्वारा पाँच पत्रकार सम्मानित

नेपाल पत्रकार महासंघ बैतडी शाखाले पाँच जना पत्रकारलाई सम्मानित गरेको छ। शाखाको १५ औं बार्षिक साधारण सभाको अवसरमा बैतडीका पत्रकार भगीरथ अवस्थी, लक्ष्मीदत्त पाण्डेय, गोकर्ण दयाल, लोकेश साउद र कृष्णबहादुर बिष्टलाई सम्मानित गरेको हो।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका अग्रज पत्रकार र बिषम परिस्थितीमा समेत पत्रकारितालाई निरन्तरता दिइरहेका पत्रकारहरुलाई सम्मान गरिएको नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष नरीदत्त बडूले बताए। उनीहरुलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरिएको बडूले बताए। पत्रकारिता पेशामा आवद्ध क्रियाशील पत्रकारहरुलाई थप हौसला प्रदान गर्न सम्मान गरिएको अध्यक्ष बडूले बताए ।

यसैबीच नेपाल पत्रकार महासंघ बैतडी शाखाको १५ औं बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ। शाखाका अध्यक्ष नरीदत्त बडूको अध्यक्षतामा भएको साधारण सभाको उद्दघाटन सत्रमा दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्करराज जोशी प्रमुख अतिथी रहेका थिए।

बार्षिक साधारण सभामा जिल्ला न्यायधिश तीर्थराज भट्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मुकुन्दप्रसाद भण्डारी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिका अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट बिशिष्ट अतिथी रहेका थिए। बार्षिक साधारण सभाले सरकारले पछिल्लो समयमा निजी सञ्चार माध्यमहरुलाई विज्ञापन नदिने निर्णय गरेकोमा विरोध गर्दै खेद प्रस्ताव पारित गरेको छ ।

यस्तै जिल्लामा सञ्चालित मिडियाहरुको विकास र सञ्चालनमा सहयोग पुर्याउन स्थानीय तहहरुलाई स्थानीय सञ्चार माध्यम प्रवद्र्धन कार्यविधि पास गराउन आग्रह गर्ने निर्णय गरेको छ। यस्तै जिल्लाका कार्यालयहरुले जिल्लाकै सञ्चार माध्यमहरुलाई विज्ञापन उपलब्ध गराउनुपर्ने र यसका लागि प्रमुख जिल्ला अधिकारीमार्फत समन्वयकारी भूमिका निर्वाहका लागि आग्रह गर्ने निर्णय समेत साधारण सभाले पारित गरेको अध्यक्ष बडूले बताए।

बार्षिक साधारण सभामा सहसचिव केशव भट्टले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष करुणाकर भट्टले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ।

Leave A Reply

Your email address will not be published.