सरस्वती आधारभूत विद्यालयको धार्मिक तथा शैक्षिक भ्रमण सम्पन्न

बैतडीको मेलौली नगरपालिका–०६ मा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुले धार्मिक तथा शैक्षिक भ्रमण गरेका छन्। विद्यार्थीहरुलाई स्थानीय धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबारे जानकारी गराउने उद्देश्यले भ्रमण आयोजना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भागवान पोखरेलले जानकारी दिनुभयो।

भ्रमणका क्रममा विद्यार्थीहरुले यस क्षेत्रकै प्रसिद्ध मेलौली भगवती मन्दिर, देवगुफा लगायत मेलौली नगरपालिका भित्र रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गरेको जनाईएको छ। भ्रमणका क्रममा विद्यार्थीहरुलाई धार्मिक स्थलहरुको इतिहास, धार्मिक महत्व तथा सांस्कृतिक विशेषताबारे जानकारी समेत गराइएको विद्यालयले जनाएको छ।

विद्यालयले कक्षाकोठाभित्रको पढाइसँगै व्यवहारिक तथा अनुसन्धानमूलक शिक्षालाई प्राथमिकता दिँदै यस्ता गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। विद्यार्थीहरु पनि भ्रमणप्रति निकै उत्साहित देखिएको पोखरेलले बताउनुभयो।

यो विद्यालय प्रधानाध्यापकदेखि विद्यालय कर्मचारीसम्म महिलाहरुले मात्रै सञ्चालन गर्दै आएका छन्। महिलाको नेतृत्वमा विद्यालय प्रभावकारी ढंगले सञ्चालन भइरहेको भन्दै स्थानीयहरुले विद्यालयको प्रशंसा गरेका छन्।

महिला नेतृत्वले विद्यालयमा अनुशासन, व्यवस्थापन र शैक्षिक वातावरण थप सुदृढ बनेको अभिभावकहरुको भनाइ रहेको छ। विद्यालय प्रशासनले आगामी दिनमा पनि विद्यार्थीको क्षमता विकास, सामाजिक चेतना तथा स्थानीय कला–संस्कृति संरक्षणमा टेवा पुग्ने खालका कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।

Leave A Reply

Your email address will not be published.