बैतडी : डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालस्थित अशिग्राम माध्यमिक विद्यालयको ७२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन गरिएको समारोह आज विविध कार्यक्रमका साथ सम्पन्न भएको हो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम टमटाको अध्यक्षता तथा भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतको प्रमुख आतिथ्यतामा आइतबार समारोहको उद्घाटन गरिएको विद्यालयका शिक्षक तथा कार्यक्रम सञ्चालक दौलत टमटाले जानकारी दिनुभयो।
दुईदिने समारोहमा विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक गतिविधि समेटिएको वार्षिक प्रतिवेदन प्रधानाध्यापक राजेन्द्रबहादुर पाण्डेले प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा विद्यालयले हासिल गरेका उपलब्धि, आगामी योजना तथा शैक्षिक सुधारका कार्यक्रमहरूबारे जानकारी गराइएको थियो।
वार्षिकोत्सवको अवसरमा शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याउने शिक्षक तथा सहयोगी व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ।
समारोहमा विद्यालयका विद्यार्थीहरूले स्वागत गीत, नृत्य, नाटक, देउडा तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनपूर्ण बनाएको जनाईएकाे छ। कलाकारहरू लाल बहादुर धामी (अछामी बड्डाे), गायिका गाैरी भट्ट, गायक रमेश मल्ल र गायक महेन्द्र राम पार्की लगायतका कलाकारले प्रस्तुति प्रस्तुत गरेका थिए।
कार्यक्रममा अभिभावक, पूर्वविद्यार्थी, जनप्रतिनिधि, शिक्षक तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हेमराज चटौतले अशिग्राम माध्यमिक विद्यालयले जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वि.सं. २०११ सालमा स्थापना भएको अशिग्राम माध्यमिक विद्यालय डडेल्धुरा जिल्लाकै अग्रणी शैक्षिक संस्थामध्ये एक मानिन्छ। हाल विद्यालयमा कक्षा १२ सम्म अध्ययन–अध्यापन सञ्चालन भइरहेको छ भने रुपाल बहुमुखी क्याम्पसको सम्बन्धन प्राप्त गरी उच्च शिक्षाको अवसरसमेत उपलब्ध गराइएको छ।
दुईदिने ७२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै विद्यालयको शैक्षिक तथा संस्थागत विकासका लागि नयाँ उत्साह थपेको सहभागीहरूले बताएका छन्।