मेलाैलीमा वातावरण दिवसको अवसरमा बिरुवा रोपियो

बैतडीको मेलाैली नगरपालिकाले विश्व वातावरण दिवस विभिन्न फलफूल तथा बिरुवा रोपेर मनाएको छ।

“समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नाराका साथ मेलाैली नगरपालिका र जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (LACC Project) को संयुक्त आयोजनामा नगरपालिकाको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो।

दिवसको अवसरमा धुपीसल्लो, किम्भु, गोदावरी, केसर, गोरखपान, डबल्डेलिया, इन्द्रकमल, गुलाब, बल्बपुष्प, सयपत्री लगायतका विभिन्न फूल तथा बिरुवाहरू रोपिएको परियोजना कार्यान्वयन इकाइ अधिकृत पूर्णबहादुर चन्दले जानकारी दिनुभयो। वृक्षारोपण कार्यक्रममा परियोजनाका प्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

दिवसकाे अवसरमा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तथा वातावरण संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेकाे समेत बताईएकाे छ। रोपिएका बिरुवाको संरक्षण तथा नियमित हेरचाह गरिने नगरपालिकाले जनाएको छ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र स्वच्छ नगर निर्माणमा टेवा पुर्याउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको बताईएकाे छ। विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्वभर मनाइँदै आएको छ।

Leave A Reply

Your email address will not be published.