बैतडीको शिवनाथ गाउँपालिका–५ लामाखालीस्थित शिवपुर्ण माध्यमिक विद्यालयमा विश्व वातावरण दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइएको छ।
दिवसको अवसरमा विद्यालयले हाजिरीजवाफ प्रतियोगिता, वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक र्याली, फलफूलका बिरुवा रोपण तथा विद्यालय परिसर र आसपासका क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ। वातावरण संरक्षण र स्वच्छ वातावरण निर्माणमा विद्यार्थी तथा समुदायलाई जागरूक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष केशव बहादुर चन्दले जानकारी दिनुभयो।
कार्यक्रमअन्तर्गत आयोजित हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तपेन्द्रसिंह धनाडीले बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा वातावरणप्रति जिम्मेवारीबोध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको कार्यक्रममा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा प्लास्टिकजन्य फोहोर न्यूनीकरणका विषयमा समेत सचेतना फैलाइएको थियो।
विद्यालय प्रशासनले वातावरण संरक्षणका गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। सहभागीहरूले वृक्षरोपण, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रममार्फत वातावरण संरक्षणमा सबैको साझा जिम्मेवारी रहेको सन्देश प्रवाह गरेका थिए।