बैतडी: राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको अध्यक्षमा बैतडीका रमेशराम कोली निर्वाचित भएका छन्।
कैलाली धनगढीमा सम्पन्न महासंघको १४ औं बार्षिक साधारण सभा र सातौं राष्ट्रिय महाधिवेशनले कोलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। समितिका अन्य पदहरुमा सर्वसम्मत पदाधिकारी चयन भएपनि अध्यक्षमा भने निर्वाचन भएको थियो।
हुम्लाका पर्वत सुनारलाई पराजित गर्दै कोली अध्यक्षमा निर्वाचित भएका हुन्। लामो समयदेखि हलियामुक्ति आन्दोलनमा सक्रिय रहेका कोलीले शुक्रबार पदभार ग्रहण गरेका छन्।
राष्ट्रिय मुक्त हलिया समाज महासंघले लामो समयदेखि मुक्त हलियाको हक, अधिकारको क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा यसलाई थप प्रभावकारी रुपले अगाडि बढाउने अध्यक्ष कोलीले बताए। मुक्त हलियाहरुले अहिले पनि विभिन्न समस्या झेलीरहेको बताउँदै उनले मुक्त हलियाहरुका समस्या समाधानका लागि नयाँ कार्यसमिति सक्रिय रहने उनले बताए।
कोलीको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा कञ्चनपुरका शिवि लुहार र डडेल्धुराकी इन्दिरा ताम्राकार चयन भएका छन्। यस्तै महासचिवमा डडेल्धुराका तुलाराम सार्की, कोषाध्यक्षमा कञ्चनपुरकी सन्जु नेपाली तथा सचिवमा बाजुराका लालवीर सार्की र जाजरकोटका प्रसाद नेपाली चयन भएका छन्।
यस्तै सदस्यहरूमा बैतडीका राजुराम भुल, डडेल्धुराकी कौशिला दमाई, डडेल्धुराका जगदीशकुमार चुनारा, बाजुराका जयलाल विक, सुर्खेतकी रोशनी कुमारी सुनार, दार्चुलाकी मानवती वड, हुम्लाकी तिलसरा विक र जाजरकोटकी चन्द्रकला कामी चयन भएका बताइएको छ।