आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदैछ। सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ।
संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा एक प्रस्ताव पारित गर्दै जुन ७ तारिखलाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेको हो। घोषणापछि सन् २०१९ देखि विश्वभर खाद्य सुरक्षा दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्द्धन तथा समन्वय विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले संयुक्त रूपमा गर्दै आएका छन्। दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष झण्डै ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क छ।
डब्ल्युएचओका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक झण्डै चार लाख २० हजार जनाको ज्यान जाने गरेको छ। सुरक्षित र पोषणयुक्त खाद्यवस्तुमा पहुँच मानव जीवन र स्वास्थ्यका लागि अपरिहार्य मानिन्छ। दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन्। यस्ता जोखिमहरू प्रायः नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ।
विशेष गरी पाँच वर्षमुनिका बालबालिकासहित महिला, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्ग प्रभावित हुँदै आएका छन्। खाद्यवस्तुको उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका हरेक चरणमा सुरक्षा मापदण्ड पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ।
सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्यवस्तुको सुनिश्चितता गर्न सकिने विज्ञको भनाइ छ।