बैतडी-बैतडीको शिवनाथ गाउँपालिकाले गाउँ शिक्षा योजना तथा आधारभूत तह कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो शिवनाथ’ सन्दर्भ सामग्री तयार गरेको छ।
स्थानीय आवश्यकता, भाषा, संस्कृति, परम्परा, भूगोल तथा सामाजिक परिवेशलाई समेटेर सन्दर्भ सामग्री तयार गरिएको शिक्षा शाखा प्रमुख दिनेश साउदले बताउनुभयो। उक्त सामग्रीले विद्यार्थीहरूलाई आफ्नो स्थानीय परिवेशबारे जानकारी हासिल गर्न तथा व्यवहारिक सिकाइमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी गाउँपालिकाको समग्र शैक्षिक विकासलाई व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन दीर्घकालीन सोचसहित गाउँ शिक्षा योजना पनि तयार गरिएको गाउँपालिका अध्यक्ष कर्णसिह साउदले बताउनुभयो। योजनाले विद्यालय शिक्षाको पहुँच, गुणस्तर अभिवृद्धि, शैक्षिक सुधार तथा स्थानीय तहको शैक्षिक व्यवस्थापनलाई थप मजबुत बनाउन मार्गनिर्देशन गर्ने विश्वास लिइएको छ।
गाउँ शिक्षा योजना तथा सन्दर्भ सामग्री निर्माण कार्य सफलतापूर्वक सम्पन्न हुनु गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको गाउँपालिका उपाध्यक्ष सकुन्तला साउँदले बताउनुभयो। यस कार्यमा गाउँपालिकाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने कार्यदलका सम्पूर्ण पदाधिकारी, शिक्षक–शिक्षिका, शिक्षा क्षेत्रका सरोकारवाला तथा सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
स्थानीय पाठ्यक्रम र गाउँ शिक्षा योजनाको प्रभावकारी कार्यान्वयनमार्फत शिवनाथ गाउँपालिकामा गुणस्तरीय शिक्षाको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।