जवलपुर माध्यमिक विद्यालयमा शिक्षक तथा होमवर्क डायरी कार्यान्वयन

बैतडीको पञ्चेश्वर गाउँपालिका–०४ सैलोडास्थित जवलपुर माध्यमिक विद्यालयले शिक्षण सिकाइ प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन शिक्षक तथा विद्यार्थी डायरी कार्यान्वयनमा ल्याएको छ।

शैक्षणिक योजना, दैनिक पाठयोजना, गृहकार्य व्यवस्थापन तथा समग्र शिक्षण सिकाइ गतिविधिलाई व्यवस्थित गर्न शिक्षकहरूका लागि शिक्षक डायरी र विद्यार्थीहरूका लागि होमवर्क डायरी लागू गरिएको विद्यालयका प्रधानाध्यापक विनोद प्रसाद भट्टले जानकारी दिनुभयो। शिक्षक डायरीमार्फत शिक्षकहरूले दैनिक पढाइको योजना, कक्षागत गतिविधि, सिकाइ उपलब्धि तथा आगामी कार्ययोजनाको अभिलेखीकरण गर्न सहज हुने विश्वास गरिएको छ।

त्यसैगरी विद्यार्थी डायरीले गृहकार्य नियमित गर्ने, विद्यालय र अभिभावकबीच समन्वय बढाउने तथा विद्यार्थीमा जिम्मेवारीबोधको विकास गर्न सहयोग पुग्ने विद्यालयले जनाएको छ। प्रधानाध्यापक भट्टले डायरीको प्रभावकारी कार्यान्वयनबाट विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुनुका साथै विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक सुधार आउने अपेक्षा गरिएको बताउनुभयो। 

विद्यालयले शिक्षक, विद्यार्थी र अभिभावक सबै पक्षको सक्रिय सहभागिताबाट यस अभियानलाई सफल बनाउन आग्रह गरेको छ। विद्यालयले आगामी दिनमा समेत शिक्षण सिकाइ प्रक्रियामा नवीन अभ्यासलाई प्राथमिकता दिँदै गुणस्तरीय शिक्षाका लागि विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।

Leave A Reply

Your email address will not be published.