बैतडीको शिवनाथ गाउँपालिका–१ बोड्ब्यामा रहेको सरस्वती आधारभूत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। आज आयोजित अभिभावक तथा सरोकारवालाको भेलाले सर्वसम्मत रूपमा नयाँ समिति चयन गरेको हो।
गठित समितिको अध्यक्षमा मोहन सिंह चाड चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा देवान सिंह चाड, जानकी सार्की र जस्मा चाड चयन हुनुभएको छ। वडा प्रतिनिधिका रूपमा देबेन्द्र सिंह साउद, शिक्षक प्रतिनिधिका रूपमा भान सिंह साउद तथा सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद चौधरी रहनुभएको छ।
भेलामा सहभागी अभिभावक तथा सरोकारवालाहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास, नियमित अनुगमन तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा नयाँ समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष मोहन सिंह चाडले विद्यालयको समग्र विकास, अभिभावकसँगको समन्वय र गुणस्तरीय शिक्षाका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
विद्यालय प्रशासनले पनि नयाँ समितिको गठनसँगै विद्यालय व्यवस्थापन तथा शैक्षिक गतिविधि थप व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा गरेको जनाएको छ।